“जापान” पठाइदिने भन्दै ४० लाख ठगेको आरोपमा चार जना पक्राउ

शेयर गर्नुहोला

जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग ३९ लाख ६८ हजार ९९६ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखा नयाँ बानेश्वरको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न व्यक्तिसँग ठगी गरेको आरोपमा मकवानपुरकी ३७ वर्षीय शुभद्रा परियार, इलामकी ३३ वर्षीय पुजा राई, सिन्धुपाल्चोकका ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुरकी २१ वर्षीय दीपिका केसीलाई सोमबार काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

सामाजिक सञ्जाल फेसबुकमा ‘टानाकायोका’को नामबाट फेसबुकको प्रयोग गरी आफू जापानको अध्यागमनमा काम गर्ने नागरिक हो भन्दै ‘वर्किङ भिसा’ प्रक्रियाका लागि रकम पठाउनुपर्छ भनी ठगी गरेको अपराध महाशाखाले जनाएको छ।

उनीहरूले पीडितलाई पैसा आफ्नो खातामा राख्न लगाएर जापान नपठाई ठगी गरेको प्रहरीको भनाइ छ।

पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ।

पछाडि पोस्टबि.पी.कोइराला प्रतिषठान मा आन्दोलन; भोलि देखि ओपिडी सेवा खुल्ने||
अगाडि पोस्टसप्तरीको मा .वि बभनगमा कट्टीमा कृषी मन्त्रि शैलेन्द्र साह द्वरा पुस्तकालय सामग्री हस्तान्तरण